काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
साथै, सरकारमा भएका दलहरूले एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा पनि विरोध गर्ने भन्दै दोहोरो चरित्र देखाएको उनको आरोप थियो । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
उनले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको समेत आरोप लगाए । ओलीले सत्ताधारी गठबन्धनले नै कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएको दाबी गरेका छन् ।
गठबन्धनका कार्यकर्ता सडक भत्काएको र प्रहरीमाथि ढुंगा हानेकोप्रति आपत्ति जनाउँदै उनले प्रदर्शनकारीको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए ।
गठबन्धनलाई लक्षित गर्दै ओलीले भने, ‘एकथरीलाई सडकमा जाउ भन्ने अर्को थरीलाई सदनमा आउ भन्ने । एमसीसी आफैं टेलब गर्ने आफैं विरोध गर्ने । सत्तारुढ गुट देशप्रति जिम्मेवार बनेकोको छैन ।’ आइतबार नयाँ बानेश्वरमा एमसीसीको विरोधमा भएको प्रदर्शन र ढुंगामुडाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेको उनले बताए ।