नेपाल-पाकिस्तान मैत्रीपूर्ण टि-२० क्रिकेट प्रतियोगिता हुने
अखबार टुडे
प्रकाशित:
२०७८, ९ फाल्गुन

काठमाडौं, ९ फागुन । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

दूतावासले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता आगामी फागुन १८ देखि २६ गतेसम्म सञ्चालन हुन लागेको जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा खेलाइने र सहभागी १२ टोलीलाई चार समूह विभाजन गरी सञ्चालन गर्ने जनाएको छ ।

दूतावासका प्रथम सचिव सकिल अहमदले विगतका वर्ष झैँ यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । ‘क्रिकेट पाकिस्तानको महत्वपूर्ण खेल भएकाले यसैबाट दुईदेशबीचको सम्बन्ध झन् प्रगाढ बनाउनका लागि प्रतियोगिता गर्दै आएका हाँै’, उनले भने । यस्ता खेलले नेपालका क्रिकेटप्रेमीका लागि पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा प्लेटर्फमका रुपमा रहेको बताए । उनले यस प्रतियोगिताको मुख्य आकर्षण भनेको युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने जानकारी दिए ।

प्रतियोगिताका लागि शुभकामना दिँदै नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले युवालाई उनीहरुको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । प्रतियोगिताका खेल धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया