काठमाडौं, ९ फागुन । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्ध खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुहरूलाई प्रवेश दिने भएको छ ।
कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो । अब, खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ ।
पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ । यो निर्णयसँै आज अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ ।
मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताएको छ ।
अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका बीबीसीले जनाएको छ ।
परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अस्ट्रेलियामा लागु गरिएको कडा नियमको आलोचना भएको थियो । तर उक्त नियमले खोप उपलब्ध हुनुअघि कैयौँ मानिसको ज्यान जानबाट जोगाएको जस पनि बताइएको छ । अस्ट्रेलियामा कोभिडका कारण हालसम्म झन्डै ४,९०० जनाको मृत्यु भएको छ ।