विद्युत् प्राधिकरण ६ महिनामा १२ अर्ब नाफा कमाउन सफल
अखबार टुडे
प्रकाशित:
२०७८, ८ फाल्गुन

काठमाडौँ, ८ फागुन । नेपाल विद्युत् प्राधिकरणले उल्लेख्य नाफा कमाउन सफल भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु १२ अर्ब १२ करोड नाफा कमाएको हो ।

प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/७८ मा मात्रै रु छ अर्ब १८ करोड नाफा गरेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर दोब्बर भएको हो ।

योसँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी जस्ता कारणले संस्थाको आर्थिक स्वास्थ्यमा गुणात्मक फड्को मारेको प्रतिक्रिया दिए । उनले विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण पनि चालु आवको ६ महिनामा संस्थाले उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए ।
कार्यकारी निर्देशक घिसिङले भने, ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम नै हाम्रा लागि बरदान सावित भएको छ ।’

यस्तै, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको अर्को महत्वपूर्ण कारण हो । यस्तै, हिमाल पावरले सञ्चालन गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत हिस्सासमेत प्राधिकरणको नाममा आएको छ । सो आयोजनाको बिजुलीको खरिद मूल्य पनि असाध्यै सस्तो छ ।

उनले चालु आवको बाँकी अवधिमा नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका पनि बताए । प्राधिकरणले आव २०७३/७४ मा रु एक अर्ब ५० करोड, आव २०७४/७५ मा रु दुई अर्ब ८४ करोड, आव २०७५/७६ मा रु नौ अर्ब ८१ करोड, आव २०७६/७७ मा रु १३ अर्ब २७ करोड, २०७७/७८ मा रु छ अर्ब एक करोड नाफा गरेको थियो ।

प्राधिकरणले चालु आवको ६ महिनामा रु ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिदमा हुने गरेको छ ।

विद्युत् निर्यात बढ्यो
आघिल्लो वर्षका तुलनामा चालु आवको छ महिनामा नेपालमा खपत भएर बढिरहेको विद्युत् भारतर्फ निर्यात बढेको छ । यस्तै अपुग विद्युत्को आयातको परिमाण घटेको छ । गत आवमा ३१ करोड ६० लाखको विद्युत् भारततर्फ निर्यात भएकोमा चालु आवको ६ महिनामै रु ८० करोड ५० लाखको विद्युत् निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।

यस्तै, चालु आवको ६ महिनामा २ अर्ब ५८ करोडको मात्र विद्युत् आयात भएको छ । यसवर्ष रु १० अर्ब भन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । यसवर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ ।

विद्युत् चुहावट १४.४५ प्रतिशतमा झ¥यो
चालु आवको छ महिनामा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ । प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको पहिलो छ महिनामा २.७३ प्रतिशत विन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको हो । विद्युत् प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो ।

प्रणाालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ । प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया