मलंगवा, ८ फागुन । नेकपा एमाले सर्लाही जिल्ला कमिटीको ८औँ अधिवेशनमा विवाद भएको छ । विवादका बीच सर्वसम्मती भन्दै अध्यक्ष मण्डलले जिल्ला कमिटीको घोषणा गरेको छ ।
सर्लाही सदरमुकाम मलंगवामा शनिबार सम्पन्न जिल्ला अधिवेशनमा केन्द्रीय सदस्य एवं अध्यक्ष मण्डलका सदस्य रिता साहले असहमती जनाएकी छन् । जिल्ला कमिटीको घोषणा हँुदै गर्दा साह बन्दसत्र छोडेर हिडेकी थिइन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै साहले असक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउँदा पार्टी कमजोर हुने देखिएकाले आफ्नो सहमति नरहेको बताइन् । सर्वसम्मतको नाममा असक्षम व्यक्तिलाई जिल्ला अध्यक्ष बनाइएको भएपनि आफ्नो सहमति नभएको उनले बताइन् ।
‘विधि, प्रक्रिया नै छैन् । प्रतिनिधि छनोट पनि एकलौटी गरिएको छ । एमाले र पूर्वमाओवादीका नेतालाई समेत समेटेर एकता झल्किने गरी कमिटी निर्माण गर्नुपर्नेमा त्यस्तो देखिएको छैन’ साहले भनिन् ।
अध्यक्ष मण्डलमा कमला महतो, बद्री न्यौपाने, रञ्जना सरकार, कल्पना कटुवा, रिता साह, रामऔतार यादव रहेका छन् । अध्यक्ष मण्डलले प्रक्रिया समेत नपुर्याई मनोमानी रुपमा कमिटीको घोषणा गरेको आरोप साहको छ ।
अध्यक्ष मण्डलले पार्टीको अध्यक्षमा राजनारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल, सचिव केदार खत्री, सहसचिवमा प्रकाश थापा नाम घोषणा गरिएको छ । पदाधिकारी सहित सदस्य १४९ सदस्यीय हुने भनिएको छ । तर विवाद उत्पन्न भएपछि अध्यक्ष मण्डलले सदस्यको नाम घोषणा गर्न सकेन ।
जिल्ला अधिवेशन उदघाटन गर्न पार्टी महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, केन्द्रीय सदस्य ज्वाला साह लगायतका नेताहरु मलंगवा पुगेका थिए ।