मस्को, ७ फागुन (एजेन्सी) । पूर्वी युक्रेनको टुक्रिएको क्षेत्र (तथाकथित डोनेट्स्क जन गणतन्त्र)का नेताले शनिबार पूर्व सोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य जन परिचालनका निम्ति आग्रह गरेका छन् ।
‘म रिजर्भमा रहेका मेरा सँगी नागरिकहरूलाई सैन्य भर्ती कार्यालयहरूमा आउन आग्रह गर्दछु । आज मैले सामान्य जन सैन्य परिचालन सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरें,’ नेता डेनिस पुशिलिनले एक भिडियो मा उक्त घोषणा गरेका हुन् ।
यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको छ
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र आगामी दिनमा यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन् ।
अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका आधारमा आफूले उक्त निष्कर्ष निकालेको र रूसले आक्रमण गर्दा सीमा क्षेत्रका यूक्रेनी गाउँ तथा शहरमात्र निशानामा नरहने वाइडेनको भनाइ रहेको छ । रूसको आक्रमणको निशानामा राजधानी किभ पनि पर्नसक्ने उनले बताए ।
यद्यपि,केही यूरोपेली मुलुकहरू र अमेरिकाले भनेजस्तो रूसले आक्रमणको योजना बनाइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको रूसी अधिकारीहरूले बताउँदै आएका छन् ।
यूक्रेनमाथिको आक्रमण गर्ने रूसी योजना रहेको र यसलाई आफूहरूले निष्तिेज पारिदिएको भनी जस लिने दाउमा केही शक्तिराष्ट्रहरू लागि परेको र ‘यूक्रेन आक्रमणबारे’ अफबाह मात्र फैलाइरहेको रूसी अधिकारीहरूले दावी गरेका छन् ।
रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनाबटी सङ्कटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्नसक्ने भय पश्चिमा राष्ट्रहरूको छ । अमेरिकाले एक लाख ६९ हजार देखि करिब दुई लाख रुसी सैनिकहरू युक्रेन र वरपरका क्षेत्रमा भेला भइरहेको आँकलन गरेको छ ।
त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको सङ्ख्या पनि जोडिएको छ ।
यसैबीच ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधारहरू रहेको बताएका छन् । राष्ट्रपति पुटिनप्रति सङ्केत गर्दै उनले भने, ‘अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन् ।’
युक्रेनमा हालैका साइबर हमलामा रुस संलग्न छैन
युक्रेनी बैंकहरूमा हालैका साइबर हमलाहरूमा रूसको संलग्नता नभएको संयुक्त राज्य अमेरिकाको लागि रूसी दूतावासले जनाएको छ ।
शुक्रबार, साइबर र इमर्जिङ टेक्नोलोजीका लागि उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनी न्युबर्गरले बाइडेन प्रशासनले रूसले रक्षा मन्त्रालय लगायत युक्रेनी सरकारी संस्थाहरूलाई लक्षित गरी साइबर हमला गरेको विश्वास गरे पनि यसमा सत्यता नभएको उल्लेख गरेका छन् ।
‘हामी अमेरिकीे प्रशासनको निराधार आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौं र उल्लेख गरिएका घटनाहरूमा रुस संलग्न थिएन र साइबरस्पेसमा कुनै दुर्भावनापूर्ण कार्यहरू नगरेको कुरामा जोड दिन्छौं,’ दूतावासले आफ्नो ट्विटर पेजमा उल्लेख गरेको छ । कूटनीतिक नियोगले न्युबर्गरको टिप्पणीलाई रुस विरोधी टिप्पणीको रूपमा व्याख्या गरेको छ ।
करिब २५,००० लुहान्स्क बासिन्दाहरू रूसको सीमा पारि पुगे
डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाहरूले रूसको सीमा पार गरिसकेका छन् ।
आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयं–घोषित डोनेट्स्क जनवादी गणतन्त्र (डिपिआर) ले सम्पर्क लाइनमा तनाव बढ्दै गएपछि आफ्ना नागरिकहरूलाई रूसको रोस्तोभ क्षेत्रमा सार्ने घोषणा गरेका हुन् ।
‘करिब २५,००० नागरिकहरूले सीमा पार गरेका छन्,’ प्रवक्ताले रूसी कार्यवाहक आपतकालीन मन्त्रीलाई बताएअनुसार ती व्यक्तिहरू निजी सवारी साधन प्रयोग गरी सीमा पार गरेका हुन् । प्रवक्ताले अहिले करिब १०,००० शरणार्थीहरू सीमा पार गर्ने तयारीमा रहेको पनि उल्लेख गरेका छन् ।
स्पुतनिकका अनुसार लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ । विस्फोट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन लिहान्स्कगासले विज्ञप्ति मार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन् ।
स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ ।