काठमाडौं, ७ फागुन । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज(शनिबार) विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।
समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शीर उचाली’ सहित देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।
बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ ।
तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो ।