काठमाडौं, ६ फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज पनि प्रदर्शन भएको छ । नेपालले स्वीकार्न नहुने भन्दै विभिन्न राजनीतिक दल र जनवर्गीय संगठनहरु देशभर विरोध गरिहेका छन् ।
एमसीसीको विरोधमा भएको प्रदर्शनले केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनलगायत पाँच साना वाम गठक र राप्रपाले एमसीसीको विरोध प्रदर्शन गर्दै आएको छ । शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
यसअघि ४ फागुन अर्थात बुधबार सरकारले एमसीसी ससंदमा पेस गर्ने तयारी गरेपछि गरिएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । एमसीसीको विरोधमा संसद भवन घेराउ सुरु भएपछि नयाँबानेश्वर क्षेत्रमा बाक्लो सुरक्षाकर्मी खटाइएको छ ।
यता सत्ता गठबन्धनभित्रै एमसीसीबारे मतभेद रहँदै आएको छ । तिव्र मतभेदका कारण सत्ता गठबन्धन धरापमा परेको छ ।
गठबन्धनकै नेतृत्व गर्दै आएको नेपाली कांग्रेस एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको छ भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताउँदै आएका छन् । शुक्रबार एमसीसीबारे साझा धारणा बनाउन बसेको गठबन्धनको बैठक निक्ष्कर्षविहीन सकिएको छ । आइतबार पुनः एमसीसीबारे साझा धारणा बनाउन गठबन्धन बैठक बस्ने भएको हो ।