
काठमाण्डौं, ६ फागुन । आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई हराएको छ । अल अमेरात क्रिकेट मैदानमा नेपालले उत्कृष्ट बलिङ गर्दै घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । सो लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९–९, खवार अलीले ७ रनमात्र बनाउन सके ।
नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।
नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए । यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६/ १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई विकेट लिदा फैज बट, जिशान मक्सुदले एक–एक विकेट लिए ।