प्रदेश १ को नामकरणका लागि सर्वदलीय बैठक आह्वान
अखबार टुडे
प्रकाशित:
२०७८, ६ फाल्गुन

विराटनगर, ६ फागुन । प्रदेश नंं १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ ।

नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो ।

प्रदेश सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकासमन्त्री जयराम यादवलाई प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा दिएको थियो । सोहीअनुसार बिहीबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा उनकै कार्यकक्षमा बसेको बैठकले प्रदेशको नाम टुङ्गो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेशको नाम प्रस्ताव गरिने प्रारम्भिक सहमति गरेको स्वास्थ्यमन्त्री तथा प्रदेश नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका प्रमुख यादवले जानकारी दिए ।

‘बैठकमा प्रदेशको नाम प्रदेशसभामा प्रस्तुत गर्नुपर्दा सत्तारुढ गठबन्धनका तर्फबाट सहमतिमा प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेका छौँ’, उनले भने । यादवले प्रदेश नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिए ।

उक्त बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलका प्रदेश कमिटी अध्यक्ष÷सभापति, सरकारका सबै मन्त्री सहभागी हुने मन्त्री यादवले बताए ।

प्रतिक्रिया