काठडमाडौं, ६ फागुन । नेपाल पक्षी संरक्षण सङ्घले ‘छिमेकी चरा’ एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य सुरु गर्ने भएको छ ।
स्वयंसेवक खटाएर देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु गर्न लागेका हुन् ।
सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार, ‘मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ’, । ‘एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।’
पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने र त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निक्र्यौल हुने उनले बताए । डौगराका अनुसार स्वयंसेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।
एपमार्फत चरा गणनका लागि दुई महिना अघिदेखि तयारी थालिएको बताउँदै उनले एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताए ।
यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ ।
चराको महत्व दर्शाउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ । एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका) चराको सूची राखिएको छ ।