
काठमाडौं, ५ फागुन । एमसीसीका कारण पाँच दलीय सत्ता गठबन्धनमा दरार देखिएको छ । जसले गठबन्धनलाई नै गम्भीर मोडमा पुर्याएको छ ।
नेकपा माओवादी केन्द्रले एमसीसीमा समर्थन नगरेपछि गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । गठबन्धनमा देखिएको विवादपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बिहीबार साँझ बालकोट पुगेका छन् । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।
भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।
बिहीबार साँझ एमसीसीबारे निर्णय गर्न गठबन्धनको बैठक बसेको थियो । तर, माओवादीले आफ्नो अडान नछाडेपछि गठबन्धन गम्भीर मोडमा पुगेको हो ।
माओवादीका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लको ट्वीटले पनि गठबन्धन गम्भीर मोडमा पुगेका संकेत गरेको छ । उनले एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न बालकोट पुगेको लेखेका छन् ।
माओवादीले सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे ४ सवाल अघि सारेको थियो । माओवादीले सबैभन्दा पहिला एमसीसीमा रहेका प्रावधानहरूका बारेमा स्पष्ट पारिनुपर्ने अनि मात्रै पारितको कुरा आउने बताएका थियो ।
यस्तै, नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठकाअनुसार एमसीसीमा कन्टेन्ट पनि जोडिएको हुनाले यसमा पनि छलफल नपुगेको धारणा पार्टीको थियो । यही कारण एमसीसीको औचित्यमाथि नै प्रश्न उठेको माओवादीको भनाइ थियो ।
यस्तै माओवादीले संसद सुचारु गरेरमात्रै यसबारे अघि बढ्नुपर्ने धारणा पनि राखेको थियो । ‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद सुचारु नहुँदासम्म कसरी पेश हुन सक्छ ? पहिला संसद सुचारु हुनुपर्छ’, माओवादीको भनाइ थियो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा फागुन ७ गतेसम्म पर्खिन आग्रह
यसैबीच प्रधानमन्त्री देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने बताएका छन् । सत्तारुढ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबार नै एमसीसी टेबल गर्ने बताए ।
देउवाले टेबल गरेपछि एमसीसी निर्णयका लागि दलहरूलाई पर्खिन सक्ने भएपनि फागुन १६ अघि जसरी पनि पारित हुनुपर्ने धारणा राखेका बैठकपछि एक नेताले जानकारी दिए ।
बैठकमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने फागुन ७ गतेसम्म पर्खिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । उनले ७ गते पार्टीको स्थायी कमिटी बैठक बोलाइएको बताउँदै त्यतिन्जेल सम्म फर्किन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
यस्तै जनता समाजवादी पार्टीको तर्फबाट भने दुई खाले धारणा आएको थियो । जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी तत्काल पेश हुनुपर्ने धारणा राखेका थिए । तर अर्का नेता राजेन्द्र श्रेष्ठले चाहिँ दलहरुबीच सहमति जुटाएर मात्रै अघि बढ्दा ठीक हुने धारणा राखेका थिए ।
बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएपछि सहमति जुटिनसकेको जानकारी दिए । एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको उनको भनाइ छ । भोलि १० बजे पुन बैठक बसेर सहमति जुटाउन प्रयास गरिने उनले बताए ।
उनले सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै गठबन्धनभित्र फरक फरक विचार भएकाले एमसीसीको विषयमा सहमति जुटाउन प्रयासरत रहेको पनि बताए । उनले सरकार सार्वभौम संसदबाट एमसीसी पारित गर्न लागिपर्ने र त्यसतर्फ छलफल केन्द्रीत रहेको पनि बताए ।