काठमाडौं, ५ फागुन । रुसले युक्रेनको सीमाबाट आफ्ना सेना फर्काउन थालेको दाबी ‘मिथ्या’ भएको एक वरिष्ठ अमेरिकी अधिकारीले आरोप लगाएका छन् ।
बिबिसीले समाचारमा उल्लेख गरेका अनुसार ‘ती अधिकारीले हालैका दिनमा रुसले थप ७,००० सैनिक त्यहाँ तैनाथ गरेको र कुनै पनि बेला मिथ्या अवस्था देखाएर आक्रमण गर्न सक्ने बताएका छन् ।
आक्रमणको योजना रहेको विषय अस्वीकार गर्दै रुसले सीमामा सैन्य अभ्यास सकिएको र सैनिकहरू फिर्ता गर्न थालेको दाबी गरेको छ । तर, पश्चिमा अधिकारीहरूले यसबारे कुनै प्रमाण नदेखेको बताएका छन् ।
युक्रेनमाथि आक्रमण गर्न सकिने गरी रुसले गरेको तयारी कस्तो छ त ?
रुसले बख्तरबन्द, हातहतियार र उपचार सुविधासहित करिब एक लाख ३० हजार सैनिक युक्रेनको सीमा नजिक तैनाथ गरेको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुले बताउँदै आएका छन् । यसमा बेलारुसमा सैन्य अभ्यास गरिरहेका ३०,००० सैनिक पनि समावेश छन् ।
आक्रमणका लागि आवश्यक मुख्य–मुख्य सहायता इकाईहरू पछिल्ला दिनहरूमा कम्ब्याट फौजसहित अघि बढिरहेको बताइएको छ । यसमा बख्तरबन्द मर्मत गर्ने वर्कसप, माटो पन्छाउने उपकरण र केही स्थानमा रगतको आपूर्ति सहितका अस्पतालहरू रहेको ठानिएको छ ।
केही विश्लेषकहरूले मानिसहरूको चहलपहल र अस्पतालहरूको उपस्थिति आक्रमणको तयारीको संकेत भएको बताएका छन् । आक्रमणको लागि यस्तो सहायता इकाईहरू सबै क्षेत्रमा उपलब्ध भए वा नभएको स्पष्ट हुन सकेको छैन ।
रुसका विभिन्न स्थानबाट आएका ३५,००० फौजहरू युक्रेनको सीमामा स्थायी इकाईको रूपमै तैनाथ रहेको अन्तर्राष्ट्रिय समाचारहरुमा बताइएको छ । ती समाचारहरुका अनुसार केही नयाँ सैन्य इकाईहरू रुसको सुदूरपूर्वबाट करिब ४,००० माइल यात्रा गरेर युक्रेनको सीमा नजिक आएका छन् ।
सबैभन्दा गह्रौँ हतियारहरू युक्रेनको सीमाभन्दा ८० माइल टाढाको कुस्र्क हुँदै रेलबाट ल्याइएका छन् । अरू साधनहरू कराचेभ क्षेत्र सडक मार्क हुँदै ल्याइएका छन् ।
एक लाख ३० हजार सैनिक
यसअघि अधिकांशले युक्रेनको सीमानजिक तैनाथ भएका रुसी फौजहरूको सङ्ख्या एक लाख भएको आकलन गरेका थिए । तर बिहीवार पश्चिमा अधिकारीहरूले पुरानो आकलनभन्दा धेरै फौज युक्रेन सीमामा रहेको र त्यसको संख्या एक लाख ३० हजार पुगेको बताएका छन् ।
यूकेका रक्षामन्त्री बेन वालेसले रुसले उसको आधा लडाकु फौज युक्रेनको सीमा नजिक बेलारुसमा तैनाथ गरेको बताएको बिबिसीले उल्लेख गरेको छ ।
युक्रेनले पनि यस्तै संख्यामा फौजहरू रहेको जनाएको छ । उसका अनुसार रुसले एक लाख १२ हजार स्थल सेना र १८,००० जल र वायुसेना तैनाथ गरेको छ ।
पृथकतावादीको समूह
रुसी सेनाबाहेक युक्रेनको लुहान्स्क र डोनेस्क क्षेत्रमा थप १५,००० भन्दा बढी रुसी पृथकतावादीहरू रहेको अनुमान गरिएको छ । युक्रेनले यो संख्या अझै बढी रहेको हुनसक्ने आकलन गरेको छ ।
गत डिसेम्बरमा अमेरिकी गुप्तचर मूल्याङ्कनले यस्तो फौजको सङ्ख्या एक लाख ७५ हजार पुग्ने आकलन गरेको थियो । धेरै विज्ञहरूले युक्रेनमाथि पूर्ण आक्रमणका लागि रुसले अहिले भर्ती गरेकोभन्दा धेरै फौज आवश्यक पर्ने बताएका छन् ।
बेलारुसमा सैन्य उपस्थिति
केही हजार रुसी सेना संयुक्त सैन्य अभ्यासका लागि बेलारुस पुगेका छन् । उक्त अभ्यास फेब्रुअरी १० देखि २० तारिखबीच उत्कर्षमा पुग्नेछ । बेलारुसका नेता अलेक्सान्डर लुकासेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्छन ।
युक्रेनको राजधानी किएभ बेलारुसको सीमाबाट १५० किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ । अलाइड रिजल्भ संयुक्त सैन्य अभ्यासले युक्रेनलक्षित अभ्यास गर्ने अवसर प्रदान गर्न सक्ने पश्चिमा पर्यवेक्षकहरू बताउँछन् ।
अनलाइन पोस्ट गरिएका तस्बिरमा सैन्य क्षमता भएका गाडीहरू, बख्तरबन्द अनि रकेट सिस्टम सहितका सेनाका सरसामान उक्त क्षेत्रतर्फ लाँदै गरिएको देखिएको दाबी गरिएको छ ।
रुसले हवाई प्रतिरक्षा प्रणाली, हातहतियार अनि चिकित्सकीय सहायतासहित आधुनिक एसयू–३५ लडाकु विमान बेलारुसमा तैनाथ गर्ने घोषणा गरेको छ ।
समुद्रमा सेना जलसेना
रुसले आन्ध्रदेखि प्रशान्त महासागरसम्म विश्वभरि आफ्नो नौसेनाको अभ्यास गरिरहेको छ। यो महिना सुरु भएको उक्त अभ्यास फेब्रुअरीभरि जारी रहनेछ जसमा १४० पानीजहाज र तिनलाई आधार दिने अन्य डुंगाहरू, ६० विमान र १०,००० अधिकारीहरू समाविष्ट छन् ।
युद्धमा प्रयोग हुने मुख्य बख्तरबन्द राख्न सक्ने रुसी नौसेनाका छ वटा पानीजहाज, सेना अनि सैन्य क्षमता भएका गाडीहरू इङ्ग्लिस च्यानल पार गर्दै अभ्यासका लागि भूमध्य सागरतर्फ जाँदै छन् । तर मृतसागर र युक्रेनको तट पनि उनीहरूको लक्षित गन्तव्य हुन सक्ने वा नसक्ने विषय भने अस्पष्ट छ ।