
काठमाडौं, ५ फागुन । नेपाली सांगीतिक क्षेत्रमा मेगास्टार राजेशपायल राई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट खुमलटार पुगेका छन् ।
हालैमात्र एक अन्र्तवार्तामा नेता भनेको प्रचण्डजस्तो हुनुपर्छ भनेर तारिफ गरेका राजेशपायलले बिहीबार उनको निवासमै भेट्न पुगेका हुन् । अध्यक्ष प्रचण्डसँगको भेटमा खुवालुङ, नेपाली गीतसंगीत र २०६२ सालमा खोटाङको बूइपास्थित माओवादीले आफनो घर जलाएको बारे कुरा भएको राजेशपायलले बताए ।
उनले भने, ‘घर जलाएको कुरा सुनाउँदा अध्यक्षज्यूले गल्ती भयो, माफ पाउँ भन्नुभयो ।’ राजेशपायलले खुवालुङको बिषयमा समेत प्रचण्ड सकरात्मक देखिएको बताए । उनले भने, ‘खुवालुङ हाम्रो आस्था हो । पानी जहाज भन्दा पनि ठूलो हो, त्यसैले नफुटाउनुस् भन्दा उहाँले अस्थाका केन्द्र जोगाउनु पर्छ भन्नु भयो ।’
सप्तकोशी त्रिवेणीमा देखिने ढुंगा वास्तविक खुवालुङ नभएर खुवालुङको प्रतीक हो जो किराँती आस्था र एकताको प्रतीकको रुपमा सम्मानित छ । किराती मुन्धुमका अनुसार दक्षिणबाट उत्तर जाने क्रममा किराती पुर्खाहरू खुवालुङ आइपुगेका थिए ।
उक्त खुवालुङ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक सभामा ‘सप्तकोशीमा स्टिमर चलाउन एउटा ढुंगा अवरोध भएको बताउदै सो अवरोधलाई क्रेन लगाएर फाल्ने बताएपछि विवादम आएको थियो । ओलीले भनेका थिए, ‘स्टिमर चढेर चतराबाट एघार मिनेटमा भोजपुर र एघार मिनेटमा भोजपुरबाट चतरा आइपुग्न बाधा भएको एउटा ढुंगो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दै छौं ।’
आफ्नो सांस्कृतिक आस्था र सभ्यताको धरोहर मान्दै आएको उक्त ढंगा फुटाएर फाल्ने बताएपछि किरातीहरूले ‘खुवालुङ फुटाउन हुँदैन मात्र भनिरहेका छैनन्, सरकारले जबर्जस्ती गरे प्रतिकार गर्ने पनि बताइरहेका छन् ।’
बिहीबार राजेशपायलसँग चेतन सापकोटा, रीता सापकोटा, करिश्मा ढकाल, कल्पना दाहाललगायतका कलाकारले अध्यक्ष प्रचण्डलाई भेटेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले उल्लेख गरेकी छन् । स्वकीय सचिव दाहालका अनुसार अध्यक्ष प्रचण्डले ती कलाकारसँग एक्लाएक्लै भेट गरेका थिए ।
