एमसीसी पास फेल जे पनि हुन् सक्छ: प्रधानमन्त्री देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, ५ फाल्गुन

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग (एमसीसी) परियोजना ‘पास या फेल’ जे पनि हुनसक्ने भएकाले संसद्लबाट टुंगो लगाउनुपर्ने बताएका छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गर्दै देउवाले भने, ‘हामीले पार्टी र संसदीय दलबाट एकमतले पास गर्ने निर्णय गरेका हौं, त्यसमा लागिरहेका छौं ।’ ‘अब संसद्मा पास पनि हुन सक्छ, फेल पनि हुन सक्छ, थाहा छैन । राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो, हामीले मान्नुपर्छ ।’

उनले कुनै देशको खिलापमा नभइ राष्ट्रको पक्षमा बोल्नुपर्ने भएकाले कांग्रेस डराउन नहुने स्पष्ट पारे । उनले कांग्रेस न्यायका लागि प्रतिबद्ध पार्टी भएको बताउँदै पार्टीले गरेको कामको प्रचार हुन नसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले । निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यी सबै कुरालाई बिर्सेर भए पनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ । नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्ने कुरासँग होइन ।’
महामन्त्री थापाले नेपाली कांग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दाबीसमेत गरे ।

प्रतिक्रिया