काठमाडौं, ४ फागुन । एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरमा विरोधमा उत्रिएका हुन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीका भ्रातृ संस्थाहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको बताए ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका छन् । यस्तै, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका कार्यकर्ताहरुले पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ । विरोध प्रदर्शनका कारण अहिले माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।
सरकारले आज एमसीसी पास गर्ने प्रस्तावमा संसदमा पेस गर्ने तयारी गरेपछि बानेश्वर वरपरको क्षेत्रमा प्रदर्शन गर्नेहरूको संख्या बढेको हो । तर, आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय गरेको सभामुख अग्नि सापकोटाले सुनाएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।
संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । कार्यव्यवस्थाको बैठकमा नेकपा एमाले र जसपाका नेता अनुपस्थित थिए ।
यअघि, आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरे सरकार छोड्ने नेकपा माओवादी केन्द्रले चेतावनी दिएपछि सरकार ब्याक भएको हो ।
नेपाली कांग्रेसको मंगलबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले संसदमा एमसीसी पेस गर्ने र पारित गर्न मतदान गर्ने निर्णय गरेपछि आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले विपक्षमा उभिने निर्णय गरेको थियो भने एमसिसी जबरजस्ती गरे साकार छाड्ने समेत चेतावनी दिएको थियो ।
माओवादीको निणयपछि प्रधानमन्त्री देउवा संसदमा एमसीसी पेस गर्ने तयारीबाट पछि हटेका हुन् । एमसीसीबारे थप छलफल गर्न भोलि दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि देउवा र प्रचण्डबीच भएको छ ।