काठमाडौं, ४ फागुन । प्र्याङ्कस्टर आकाश सेढाइँलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।
प्र्याङ्कको नाममा सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
८ वर्षअघिदेखि प्र्याङ्क भिडियो बनाउँदै आएका झापा विर्तामोडका सेढाइँले युट्युब च्यानलमा पछिल्लो पटक तीन साताअघि एउटा प्र्याङ्क भिडियो अपलोड भएको देखिन्छ । एसएसपी नविन्द अर्यालका अनुसार जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सेढाइँविरुद्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।
गृह मन्त्रालयले १३ माघ २०७८ मा सार्वजनिक स्थलमा प्र्याङ्क भिडियो बनाउन नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्र्याङ्क भिडियो नबनाउन’ चेतावनी दिइएको थियो ।