काठमाडौं, ४ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाउन नसक्ने बताउँदै जबरजस्ती पारित गर्न खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ ।
बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो ।
माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘एमसीसीमा राष्ट्रिय सहमति नजुटिकन यो प्रक्रिया अगाडि बढ्न सक्दैन । एमसीसी अगाडि बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ, कमसेकम सरकारमा रहेका दलहरुबीचमा सहमति हुनुपर्छ,’ । ‘सरकारले जबरजस्ती गर्न खोज्यो भने सहमति विना गर्ने सरकारले गठबन्धन तोड्ने कुरा हुन्छ । गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा शायद आउँदैन ।’
माओवादीले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै माओवादीले यो अवस्थामा कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने बताएको छ । सरकारले आज (बुधबार) दिउँसो १ बजे संसद बैठक संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।