ट्रकचालकको आन्दोलन दवाउन क्यानडाका सरकारद्वारा दुर्लभ आदेश जारी
अखबार टुडे
प्रकाशित:
२०७८, ३ फाल्गुन

ओटावा, ३ फागुन (एजेन्सी) । क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ ।
प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गरेका हुन् ।

ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोप सम्वन्धी नियमहरू लगाएपछि चालकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सरकारको सर्त मान्न नसकिने अडान राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन् । ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन शुरुमा राजधानी शहरका मेयरले सङ्कटकाल घोषणा गरेका थिए । त्यो प्रभावकारी हुन नसकेपछि प्रधानमन्त्रीले नै सङ्कटकालसहितको विशेष आदेश जारी गरेका हुन् । यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ ।

यसैबीच, क्यानेडियन सिभिल लिबर्टीज एसोसिएसनले प्रधानमन्त्री ट्रुडोको उक्त कदमको विरोध गरेको छ । प्रधानमन्त्रीको यो कदमले लोकतन्त्र र नागरिक स्वतन्त्रतालाई खतरामा पार्ने चेतावनी दिएका छन् । यता प्रदर्शनकारीहरुले सरकारको कदमबाट नतर्सिने प्रतिक्रिया दिएका छन् ।

आपतकालिन ऐनको आह्वानसँगै क्यानाडाभरि जारी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ । क्यानडाको राजधानी सहरमा सयौं आन्दोलनकारीले विरोध प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया