मेक्सिको, ३ फागुन (एजेन्सी । ‘भ्यालेन्टाइन्स डे’ अर्थात प्रणय दिवसका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी–प्रेमिकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको बताइएको छ ।
विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ वर्षीया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ । उनीहरुको भेटघाट पाँच वर्षअगाडि भएको थियो । वैवाहिक कार्यक्रममा सहभागीले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका छन् ।
‘मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रम मार्फत यसअघि नै विवाह गर्नु भएको हो, उहाँहरु अहिले खुशी नै हुनुहुन्छ, त्यसैले मैले पनि यही तरिका अपनाएँ,’ विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भनेका छन् ।
धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भएको आयोजकले बताएका छन् । उनीहरूलाई कार्यक्रमस्थलमै विवाह दर्ता प्रमाणपत्र प्रदान समेत गरिएको थियो । ‘एकै ठाउँमा एकैचोटी ६६१ जोडिको विवाह गर्दा चुनौती र कठिनाइ त अवश्य भयो,’ व्यवस्थापनमा खटिएकी एक महिलाले भनिन् ।