काठमाडौं, ३ फागुन । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी जे बेरीले एमसिसी पास गर्न नेपाली नेताहरुलाई धम्की नदिएको बताएका छन् ।
राजदूत बेरीले मंगलबार सार्वजनिक गरेको वक्तव्यमा नेपाली नेताहरुलाई धम्की दिइएको भन्ने खबरको खण्डन गर्दै यस्तो बताएका हुन् ।
उनले एमसीसी सम्झौतालाई लिएर नेपालमा भैरहेको विवादतर्फ लक्षित गर्दै ‘हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा दुई मुलुकबीचको सम्बन्धमा असर पर्न सक्नेसमेत चेतावनी दिएका छन् ।
मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले यसअघि नेपाली नेताहरुलाई एमसीसी पारित गर्न धम्कीपूर्ण दवाव दिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए ।
लूले नेपाली नेताहरुलाई दिएको भनिएको धम्कीप्रति राजदूत बेरीले खण्डन गरेका हुन् । ‘हामीले नेपाली नेताहरुलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो । यो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ ।’
अमेरिकाले एमसीसी सम्झौताको संसदीय अनुमोदनलाई लिएर नेपाली नेताहरुसँग छलफल भैरहेको जनाउँदै आमसंचार माध्यम र अनलाइनमा आएका सूचनाप्रति असन्तुष्टि समेत जनाएको छ ।