टी-२० वरीयतामा नेपाल एक स्थान खस्कियो
अखबार टुडे
प्रकाशित:
२०७८, ३ फाल्गुन

काठमाडौं, ३ फागुन । आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १३औँ स्थानमा हरेको छ । यसअघि नेपाल १२औँ स्थानमा थियो ।

ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रन र तेस्रो खेलमा आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

श्रृङ्खला जितेको यूएई १२औँ स्थानमा उक्लिएको छ । एसोसिएटबाट सबैभन्दा अगाडि रहेको युएईले १८७ रेटिङ पाएको छ । यस्तै नेपालले १८६ पाउँदा नेपालपछि १४ औं स्थानमा रहेको स्कटल्याण्डले १८५, १५औं स्थानमा रहेको आयरल्याण्डले १८४ रेटिङ पाएको छ । ओमान भने १८औं स्थानमा यथावत छ ।

वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका रहेका छन् ।

आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल, आयरल्यान्ड, यूएई र ओमानले ओमानमा चारदेशीय श्रृङ्खला खेलेका थिए ।

प्रतिक्रिया