काठमाडौं, २ फागुन । नेकपा (एमाले) का पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
संसदीय दलको बैठकमा सहभागी सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
बैठकमा ६ वटा खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो । ती कागजमा हस्ताक्षर गर्न भीम रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । प्रयोजन नखुलाएकाले आफूले हस्ताक्षर नगरेको झपट रावलले बताए ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरूको हस्ताक्षर संकलन गरेको र शीर्ष नेतृत्वको निर्णयपछि अघि बढ्ने बताएका छन् । जबराविरुद्धको महाअभियोगको विरोधमा एमालेले काउन्टर महाअभियोग ल्याउने तयारी रहेको सांसद कृष्णभक्त पोखरेलले अनलाइनखबरलाई बताएका थिए ।