नेपाल आयरल्याण्डसँग १६ रनले पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, २ फाल्गुन

काठमाडौं, २ फागुन । चार देशीय टी–२० सिरिजको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।

नेपाल दीपेन्द्र सिंह ऐरीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि टेष्ट राष्ट्र १२७ रनको लक्ष्य मा अलआउट गरेपनि नेपाल जितबाट वञ्चित रह्यो ।

आयरल्याण्डले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । नेपालले आयरल्याण्डलाई १३.३ ओभरमा हराएको भए सिरिज नै जित्ने अवसर थियो । तर सफल हुन सकेन ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले ब्याटिङमा भने खराब प्रदर्शन गर्दा पराजित हुन् पुग्यो । पहिलो विकेटका लागि कुशल र आसिफले २६ रनको साझेदारी गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बम छैटौं ओभरमा व्यक्तिगत ६ रनमा आउट भए । ओपनर आसिफ शेखले २३ रन बनाए ।
यस्तै, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि ५ रन, शरद भेषावकर १ रन, दीपेन्द्र सिंह ऐरीले २८ रन जोडे ।

आयरल्याण्डका मार्क एडेर, सिमी सिंह, बेरी म्याक्कार्थी र एन्डी म्याकब्रिनले २–२ विकेट लिए । कर्टिस काम्परले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले इनिङ्सको अन्तिम बलमा अलआउट हुँदै १२७ रन बनाएको थियो ।

उत्कृष्ट बलिङ प्रदर्शनसहित नेपालले आयरल्याण्डलाई सुरुवातदेखि नै दबावमा राखेको थियो । नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिएका थिए । यो खेलमा कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरे । उनी ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर पनि बनेका छन् ।

आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रन जोडे । कर्टिस च्यम्परले २० र एण्डी बाल्बिर्नीले १९ रन जोडे । श्रृङ्खलाको पहिलो खेलमा ओमानमाथि ६ विकेटको जित हासिल गरेको नेपालले दोस्रो खेलमा युएईसँग २५ रनको हार ब्यहोरेको थियो ।
यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी–२० विश्व कपको ग्लोबल छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।

प्रतिक्रिया