रुसलाई ४८ घण्टाभित्र सीमामा मस्को सैन्य निर्माणबारे छलफल गर्न युक्रेनको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २ फाल्गुन

किभ, २ फागुन (एजेन्सी) । युक्रेनले रुसलाई ४८ घण्टाभित्र बैठक गर्न अल्टिमेटम दिएको छ । युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका हुन् ।

ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजात अन्तर्गत कीभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन् । हामी रुस र सबै सहभागी राष्ट्रहरूसँग यसको सुदृढीकरणबारे छलफल गर्न ४८ घण्टाभित्र बैठक बस्न अनुरोध गर्छौं ।

विदेशमन्त्री कुलेबाले उक्त बैठक आह्वान गर्ने कामलाई समस्या समाधानका लागि चालिएको अर्को कदम भनेका छन् । त्यसमा रुसी योजनाको पारदर्शिता खोजिएको उनले बताए । युक्रेनले शुक्रबार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताइएको छ ।

पछिल्ला केही महिनाहरूमा, पश्चिम र युक्रेनले रसियालाई आक्रमणको कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना निर्माण गरेको आरोप लगाएका छन् । मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र बारम्बार भनिरहेको छ यसले कसैलाई धम्की दिएको छैन तर रूसी सिमाना नजिक नाटोको सैन्य गतिविधि बारे भने कडा चिन्ता व्यक्त गरेको छ ।

रुसले नाटोको यस्ता गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ । अर्कोतिर मस्कोले पनि रुसलाई आफ्नो राष्ट्रिय क्षेत्रभित्र सेना सार्ने अधिकार रहेको बताएको छ ।

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता
अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ । आइतबार भएको दुई देशका राष्ट्रपतिबीचको फोनामा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको ह्वाइट हाउसले जानएको छ ।

रुसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ । अमेरिकाले रुसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ ।
यही कारण दर्साएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् ।

समाचार स्रोतहरुले अमेरिकाले किभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन् । यसअघि देखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशहरुले पनि युक्रेनबाट आफ्ना कर्मचारीहरु फिर्ता लगेका छन् ।

यस्तै, जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

प्रतिक्रिया