काठमाडौं, १ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापा राप्रपा नेपालका अध्यक्ष बनेका छन् ।
आइतबार राप्रपा नेपालमा आवद्ध भएसँगै अध्यक्ष बनेका कमल थापाले केही समयको अलमलपछि आफू पुनः पार्टीमा फर्किएको बताएका छन् ।
उनले भने ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौं, थापाले भने, ‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौं ।’
उनले थप भनेका छन्, ‘२०७३ सालदेखि हामीले बाटो विरायौं । पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा प¥यौं । गम्भीर राजनीतिक भुलका श्रृखंलाहरु शुरू भए । असहज र गलत प्रवृत्तिहरुसंग सम्झौता गर्न थाल्यौं । फलस्वरुप हामी करिव पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिव करिव निस्क्रिय, प्रभावविहिन हुन पुग्यौं’ ।
राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाले बताएका छन् । राप्रपा नेपाल देशको भरपर्दो शक्ति बनेको भन्दै थापाले २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु पछिको तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा नेपाल देखा परेको उनले बताए ।
विगतका त्रुटि, कमजोरीहरुबाट पाठ सिकेर तथा गल्तिहरु सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर पाएको उनले बताए । नियतिले अन्ततः फेरि हामीलाई ठीक ठाउँमा ल्याईपु¥याएको बताउँदै बिचमा अवरुद्ध भएको हाम्रो यात्रा अब नयाँ उर्जा र अठोटका साथ अघि बढने बताए ।
यसअघि थापाले सोमबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारीमा थिए । ‘राप्रपा नेपाल’ थापाले नै स्थापना गरेको पार्टी हो । २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेपछि राप्रपा नेपालको अध्यक्ष लाक्पा शेर्पा बनेका थिए ।
तर, अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शेर्पाले थापालाई अध्यक्षमा चयन गरेको बताएका छन् । थापाले पुरानै राप्रपा ब्यूँताएपनि राजसंस्थाको एजेण्डा भने नबोक्ने बताएका छन् । उनले आफ्नो पार्टीको मुख्य एजेण्डा हिन्दु राष्ट्र हुने बताएका छन् ।
हालै सम्पन्न महाधिवेशनमा पराजित भएसँगै थापाले राजसंस्थाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्षमा पराजित हुनुमा राजसंसस्थाको हात रहेको उनले आरोप लगाउँदै आएका छन् ।उनले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरू सक्रियताका साथ सहभागी हुने बताए । उनले राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुने जानकारी गराए ।
विगतमा सँगै काम गरेका साथीलाई उनले विना कुनै द्विविधा राप्रपा नेपालमा आवद्ध हुन पनि आग्रह गरे ।