काठमाडौं, १ फगुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।
राणाविरूद्ध महाअभियोग प्रस्तावमा सत्तारुढ गठबन्धनका तीन ‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी’ पार्टीका सांसदहरूले हस्ताक्षर गरेका छन्।
एक सांसदका अनुसार राणाविरूद्धको महाअभियोग प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेको छ । महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन् ।
संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा पर्नेछन् । मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् । तर प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।