काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता संसदमा पेस हुनुपर्ने बताएका छन् । आसन्न स्थानीय निर्वाचन केन्द्रीत पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमसीसीबारे आफ्नो धारणा राखेका हुन् ।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले अनाधिकृत रुपमा एमसीसी रोकेको आरोप लगाए । ‘सरकारले निर्णय गरेर दर्ता गरेको कुरा रोक्छु भन्नु सभामुखको अधिकार र कर्तव्य होइन’ ओलीले भने, ‘अनाधिकृत रुपमा काम भइरहेको छ । सीमाभन्दा बाहिर गएर हस्तक्षेप भएको छ ।’
एमसीसी विकासको परियोजना भएको भन्दै उनले त्यसलाई भूराजनीतिक द्वन्द्व बनाउने कोशिस गरिएको टिप्पणी गरे । उनले भने, ‘एमसीसी विकास परियोजनालाई भूराजनीतिक द्वन्द्व बनाउने कोशिस गरियो ।’
एमसीसीमा गठबन्धन स्पष्ट नभएका कारण समस्या सिर्जना भएको समेत ओलीको भनाइ छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याद थप्ने पत्र पठाउनु कुटनीतिक मर्यादाविपरित भएको उनको ठहर छ ।
अध्यक्ष ओलीले देउवा र प्रचण्डलाई ‘दुईजिब्रे चरित्र’को संज्ञा दिँदै भने, ‘उता पास गर्ने किटानी पत्र पठाउने तर यता भ्रमित पार्ने काम गरिरहेका छन् ।’