फागुन १ देखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज
अखबार टुडे
प्रकाशित:
२०७८, २८ माघ

काठमाडौं, २८ माघ । सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले शुक्रवार १०० दिने कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खोप दिने बताएका हुन् ।

उनले फागुन १ गतेदेखि दोस्रो डोज खोप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताए । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले भने, ‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ।’

मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ३४ लाख बालबालिकालाई खोप दिने काम सुरु गरिएको जानकारी दिए । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा अहिले सबै गर्भवती महिलालाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उनले स्पष्ट पारे । उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताए ।

सार्वजनिक सेवा प्राप्तिका लागि कोभिड–१९ विरुद्धको खोप अनिवार्य रूपमा लिनुपर्ने कानुनी प्रावधान लागू गरिएको गर्नुका साथै खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको पनि उनले बताए ।

हालसम्म ४ करोड ६५ लाख ७० हजार ३२० डोज खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया