वीरगञ्ज, २८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका छन् ।
वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका हुन् ।
सम्मेलनमा बोल्दै उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ’ ।
उनले एमसीसी सम्झौता मिति पर सार्दा गहिरोसँग अध्ययन गर्न पाइने र कतिपय कुरालाई सुधार गर्न मौका मिल्ने बताए । अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताउँदै आँखा चिम्लेर भने एमसीसीलाई समर्थन गर्न नसकिंन उनले बताए ।
माधव नेपालले एमसीसीको गुण, दोष र तथ्यको आधारमा निष्कर्षमा पुग्न चाहेको बताउँदै एमसीसीबारे ७ प्रश्न वटा कुरामा स्पष्ट हुनुपर्ने बताए ।
उनले उठाएका प्रश्न यस्ता छन्
१. यो इन्डोप्यासेफिक रणनीतिको अंग हो कि होइन ?
२. यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन ? सैन्य संलग्नता छ कि छैन ?
३. ट्रान्समिसन लाइन तलको भूभाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि रहँदैन ।
४. निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमता अनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?
५. त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन ?
६. त्यसको अडिटिङ गर्ने हक नेपालको अडिटर जनरलले प्राप्त गर्छ कि गर्दैन ?
७. एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा आउनुपर्छ । आफूखुशी नयाँ–नयाँ कानुन बनाउँदै जाँदा नेपालको हितमा असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सक्छ कि सक्दैन ?