चार देशीय टी–२० सिरिजमा नेपाल ओमानसँग खेल्दै, अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी
अखबार टुडे
प्रकाशित:
२०७८, २८ माघ

काठमाडौं, २८ माघ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ ।

नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो । उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।

आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । ग्लोबल छनोटमा नेपालका लागि सबै खेल महत्वपूर्ण हुने छ ।

अनन्त भारतको आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी
नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित भएसँगै आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

अनन्तले यो सिजनको अन्तिमसम्मका लागि इस्ट बङ्गालसँग सम्झौता गरेका हुन् । उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेको छ । अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका थिए । थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा गरिसकेको छ ।

प्रतिक्रिया