दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाइयो
अखबार टुडे
प्रकाशित:
२०७८, २७ माघ

काठमाडौं, २७ माघ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य रु ९ बढाइएको जनाएको हो ।

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रबार (भोलिदेखि) बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ हुने भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो ।

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ ।

यसअघि काठमाडौँमा रु ७६, बुटवल भैरहवामा रु ७२ र नेपालगञ्ज क्षेत्रमा रु ७० तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर रु दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ ।

प्रतिक्रिया