अध्यक्ष नेपालद्वारा कार्यकर्तालाई चुनावको तयारीसहित पार्टी र संगठन निर्माणमा लाग्न निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २७ माघ

काठमाडौं, २७ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विमतिभित्र सहमतिको खोजी भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा काभ्रेका नेपाली कांग्रेसका नेता राम तामाङको नेतृत्वमा ५० जना बढी नवप्रवेशीलाई बिहीबार स्वागत गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनमा कतिपय वैचारिक विमतिका बावजुत सहमतिको खोजी हुने गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देश अब चुनावमा होमिएकोले सबै कार्यकर्तालाई चुनावको तयारीसहित पार्टी र संगठन निर्माणका काममा लाग्न निर्देशनसमेत गरे ।

उनले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै पार्टीसँग नेपाली नागरिकले धेरै ठूलो अपेक्षा गरेको बताए । उनले भने, ‘वर्तमान वामपन्थी लोकतान्त्रीक शक्तिसँग स्थानीय मात्र होइन, प्रदेश र संघको निर्वाचनसम्मै मिलेर जानेबारे छलफल भइरहेको छ ।’ उनले अहिलेकोे गठबन्धन संविधानको रक्षा, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको पक्षको भएको पनि बताए ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन कायमै राख्ने कुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक रहेको बताए । कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका ५० जनालाई नेता नेपालले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया