काठमाडौं, २६ माघ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा विभिन्न आठ वाम राजनीतिक दलहरुले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंमा प्रदर्शनमा उनीरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै नाराबाजी गरेका थिए ।
राजनीतिबृत्त एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चालगायतका राजनीतिक संगठनले एमसीसी संसदबाट अनुमोदन नगर्न खबरदारी गरेका हुन् ।
काठमाडौंको माइतघर डबलीमा जम्मा भएका उनीहरुले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए । माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको थियो । कोणसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् ।
पछिल्लो समय एमसीसीको चर्चासँगै सत्तापक्षबीच नै मतभेद रहँदै आएको छ । एमसीसीबारे मतभेद बढ्दै गएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक समेत स्थगित गरिएको थियो ।
मंगलबार प्रतिनिधिसभाको सचिवालयले सूचना टाँस गरी बैठक स्थगित गरिएको जानकारी दिएको थियो । अमेरिकाले पछिल्लो समय २८ फेब्रुअरीभित्र एमसीसी संसदबाट अनुमोदन गर्न दवावमूलक पत्र पठाएपछि नेपाली राजनीतिकबृत्तमा एमसीसी बहसको विषय बनेको छ ।