रेल सञ्चालनको तयारीस्वरुप लिकबाट हाटबजार हटाउन सुरु
अखबार टुडे
प्रकाशित:
२०७८, २६ माघ

जनकपुर, २६ माघ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।

अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, ‘रेल्वे लिगमै हाटबजार लगाउँदै आएका छन्, जसका कारण हामीलाई रेल सञ्चालनको तयारीमा समस्या भइरहेको छ’, । ‘हाटबजार रेल्वे लिकबाट अन्यत्र सार्ने विषयमा यहाँका जनप्रतिनिधि, व्यापारी र स्थानीयसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजीसमेत भइरहेको छ ।’
हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको पनि बताए ।

गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (बिना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ । उनले फागुन १ गतेदेखि उद्घाटन नहुँदासम्म बिना यात्रु प्रत्येक दिन एक पटक जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म रेल चलाउने र उद्घाटन भएपछि यात्रुको टिकट काटेर नियमित रेल सेवा सञ्चालन गर्ने उनले बताए ।

उद्घाटनको मिति एक दुई दिनभित्रै टुङ्गो लाग्ने भएकाले रेल सेवा नियमित सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए । रेल उद्घाटनपछि सुरुका १५ दिन दिनको एक पटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २/३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया