काठमाडौं, २६ माघ । गायिका अन्जु पन्तले एक दशकअघि गाएको ‘नबिर्से तिमीलाई नपाएँ तिमीलाई’ गतिको नयाँ भर्सन सार्वजनिक गरिएपछि यतीबेला विवाद उत्पन्न भएको छ ।
नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरिएको गीतकार विपिन किरणको यो गजललाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो ।
गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीतमा तयार भएको यो गीतको नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम नै उल्लेख गरिएको छ न त यसलाई कभर गीत नै भनिएकोे छ ।
यस सन्र्दभमा गायिका अञ्जु पन्तले मुख खोलेकी छन् । हाल अमेरिकामा रहेकी अञ्जुले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै ओरिजीनल गायक÷गायिकाको नाम उल्लेख नगरिनु दुखद भएको बताएकी छन् ।
फेसबुकमा उनले लेखेकी छन्, भर्खरै पुनःरेकर्ड भएर युट्युवमा सार्वजानिक भएको न विर्षेँ तिमीलाई न पाएँ तिमीलाई गजलको नयाँ भर्सन आएको खवर थाहा पाएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो । आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन ।
केही समयअघि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ ।’
अञ्जुले विपिनले आफूलाई कभरको रुपमा किड्स भर्सन नयाँ भाइबहिनीलाई गाउने दिने कुरा गरेको र यसमा आफूले खुसीसाथ हुन्छ भनेको पनि उल्लेख गरेकी छन् ।
उनले थप लेखेकी छन्, अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो ।’
उनले एक व्यक्तिको कुराभन्दा पनि संगीत र कलाकारलाई दिने सम्मान नै भुल्न लागिरहेको हो कि भनेर चिन्ता लागेको बताएकी छन् ।
उनले यो विषयलाई सम्बन्धित पक्षले दर्शक श्रोताको माग अनुसार समाधानको उपाय समाधानको उपाय निस्कनेमा आशा व्यक्त गरेकी छन् । साथै, उनले लाखौँ सहकर्मी, श्रोता, दर्शकहरुबाट पाएको माया र सम्मानप्रति सदैब आभार ब्यक्त गर्दै भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस् पनि भनेका छन् ।