गैंडा मारेर फरार भएका ‘न्यौपाने माइला’ २३ वर्षपछि काठमाडौंबाट पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, २६ माघ

काठमाडौं, २६ माघ । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।

निकुञ्जको अमृते पोष्ट नजिक २०५५ साल कात्तिक २८ गते खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो ।
उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको हो ।

निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो ।

वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताए । नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र माघ १७ गते रिपोर्ट नेगेटिभ आएपछि १८ गते जिल्ला कारागार भरतपुर पठाइएको पौडेलले बताए ।

प्रतिक्रिया