काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाको पार्टी परित्यागको निर्णयलाई ‘अनपेक्षित तथा अप्रत्यासित’ ठहर गरेको छ ।
पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका थिए । त्यसपछि अध्यक्ष लिङ्देनले काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठक राख्दै थापाको निर्णयलाई अनपेक्षित ठहर गरेको हो ।
बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा थापाको निर्णयबारे भनिएको छ, ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं । पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’
राप्रपा पार्टी स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सवै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई दुविधामा नपर्न र विचलित नहुन पनि आग्रह गरिएको छ ।