कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, २५ माघ

काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गरेर उनले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’

थापाले मंगलबार नै एक विज्ञप्ति जारी गरी पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको बताएका छन् ।

उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएका हुन् ।

प्रतिक्रिया