काठमाडौं, २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी नेताहरुलाई एकै ठाउँमा आउन आग्रह गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’लगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले भने, ‘साथीहरु घर फर्किनुभयो, धेरै राम्रो भयो । म अरु साथीहरुलाई पनि घर फर्किन भन्छु । एकै ठाउँमा आऔं ।’
कार्यक्रममा प्रचण्डले क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी रहेको पनि बताए । पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने प्रचण्डको भनाई छ ।
अध्यक्ष प्रचण्डले भने, ‘नेतृत्वले अलि परसम्म हेरेर मुलुक र जनताको हितमा आफ्नो पार्टी र वर्गको हितमा घुम्ने कार्यनीति लिएर आयो । साथीहरु त्यो घुम्तीहरुमा झुक्किनुभयो र छुट्नुभयो । यो कुरालाई बुझ्नु भएन ।’
उनले थपे, ‘हामीहरु एउटा रणनैतिक सोचका साथ अगाडि बढेका छौं, तत्कालीन स्टेपहरुको पछाडि अर्को दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा साथीहरुले बुझ्दै जानु भएको छ ।’