संसदीय समितिको बैठक : सदस्यहरुले भने, ‘एमसीसी राष्ट्रहितमा छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, २४ माघ

काठमाडौं, २४ माघ । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी), अवैतनिक दूतबाट हुँदै आएको निलो प्लेट सवारी साधनको प्रयोग र भूतपूर्व गोर्खा सैनिकका समस्यालगायत विषयमा सदस्यहरूले आवाज उठाएका छन् ।

बैठकमा सदस्यले मुलुकमा आम चासोको विषय बनेको एमसीसीबारे सरकार र राजनीतिक दलबाट जनतालाई स्पष्ट पार्न आवश्यक रहेको बताए । सो अवसरमा समिति सभापति पवित्रा खरेल निरौलाले सारा नेपाली जगरुक भएर हेरिरहेको एमसीसीका विषयमा सांसद र समिति अनविज्ञ भएर बस्न नहुने भएकाले सरकार र राजनीतिक दललाई यस विषयमा प्रष्ट पार्न सुझाव दिएकी छन् ।

उनले भनिन्, ‘एमसीसीका विषयमा हामीले अनविज्ञ भएर बस्न शोभनीय हुन्न, हामीले राष्ट्रहितमा काम गर्नुपर्छ, मुलुक र जनताको हितमा धब्बा लगाउने काम गर्नहुन्न । समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्रनीति, सुरक्षानीति, कूटनीतिलगायत विषयमा कम्तीमा पनि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीचमा राष्ट्रिय सहमति र साझा धारणा आवश्यक रहेको बताइन् ।

‘पार्टीका बीचको साझा धारणाका आधारमा नीति तर्जूमा गरौँ, राष्ट्रिय आवाजका आधारमा अरु सरकारसँग कुराकानी गरौँ, त्यो सम्भव हुन सकिरहेको छैन, भूपु गोर्खाका सन्दर्भमा पनि विगतका सम्झौता पुराना भएकाले नयाँ सम्झौता गरेर जानुपर्छ’ उनको भनाइ थियो ।

समिति सदस्य भूपु गोर्खासम्बन्धी समस्या समाधानका लागि सरकारले जुन गतिमा काम गर्ने पथ्र्याे त्यो नभएको प्रतिक्र्रिया दिए । उनले भने, ‘एमसीसीलगायत मुलुकका जल्दाबल्दा विषयमाथि सदनमा गहन छलफल आवश्यकता रहेकाले छलफलका लागि प्रमुख प्रतिपक्ष दलबाट बाटो खोल्न प¥यो । अन्योलको स्थिति अन्त्य हुनुपर्छ, अनुमोदन गर्ने वा नगर्ने अधिकार र दायित्व संसद्को हो ।’

यस्तै, पूर्वउपप्रधानमन्त्री एवं समिति सदस्य भीमबहादुर रावलले कतिपय अवस्थामा लथालिङ र भताभुङ्ग देखिएको हाम्रो कूटनीतिलाई ठिक मार्गमा ल्याउन राजनीतिक दल, सरकार र समितिले मेहनत गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘राष्ट्रिय स्वाधिनता र राष्ट्रियहितका लागि छिमेकीलगायतसँग निर्धक्ककासाथ समयमै छलफल गरी बोल्नुपर्छ’ उनले भने, ‘भूपु गोर्खाका विषयमा तत्काल उच्चस्तरीय समिति गठन गरेर पहल होस्, एमसीसी राष्ट्रियहितको पक्षमा छैन ।’ सदस्य दीपकप्रकाश भट्टले नेपाली राजदूत सिफारिस र नियुक्तीमा परराष्ट्र सेवामा रहेका अनुभविलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

उनले भने, ‘कर्मचारीले अघि सारेको एमसीसीलाई राजनीतिक दलले बुझेर वा नबुझेरपछि लागेका छन्, पछिल्ला पत्राचार राजनीतिको गैर कूटनीति अभ्यासका रुपमा लिन सकिन्छ ।’

अर्का सदस्य सुदन किराँतीले एमसीसीका विषयमा दल र जनता विभाजन देखिएकाले आवश्यक परेको खण्डमा जनमतसङ्ग्रहमा पनि जान सकिने तर्क गरे । उनले भने, ‘मुलुकमा राजनीतिले स्थायित्व नभएका बेला कूटनीति मात्रै कसरी सप्रिएला ! संसद्, समिति, राजनीतिक दल र सरकारका कदम र निर्णय केवल राष्ट्रिय हितमा हुनुपर्छ ।’

समिति सदस्य शेख चाँदतारा र सरला यादवले अवैतनिक दूतका नाममा एउटै परिवारका सदस्यको पुस्तान्तरण हुने र निलो प्लेटका नाममा हुने कूटनीतिक सवारीसाधनको दुरुपयोग रोक्न तत्काल आवश्यक कदम चाल्न पर्ने बताए ।

सांसदद्वय रेणुका गुरुङ, लीलादेवी सिटौला र सुजिता शाक्यले राजदूत नियुक्तीमा सविधानको मर्म र भावनाअनुरुप समावेशी र समानुपाति आधारमा गर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्ने गराउनेमा ससदीय समितिले भूमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया