अब कतारमा रहेको नेपालीले उतैबाट ई-पासपोर्ट बनाउन पाउने, खाडीका अन्य देशमा पनि तयारी गरिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २४ माघ

काठमाडौं, २४ माघ । अब कतारमा रहेको नेपालीले कतारबाटै राहदानी बनाउन पाउने भएका छन् ।
कतारमा रहेको नेपाली दूतावासबाट आइतबार लाइभ इनरोलमेन्ट गरी सफलता पूर्वक विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी भएको राहदानी विभागले जनाएको हो ।

यो सफलतासँगै नेपाली राजदूतावास, दोहा ‘ई–पासपोर्ट’ प्रणाली प्रयोगमा ल्याउने बिदेशस्थित नेपाली नियोगहरू मध्ये पहिलो नेपाली नियोग बनेको राजदूतावास दोहाले जनाएको छ ।

आइतबारबाटै विद्युतीय राहदानीको लागि कतारमा रहेको नेपाली दूतावासले बुकिङ समेत खुला गरेको छ । सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको हो । त्यसको लागि विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरु https://emrtds.nepalpassport.gov.np/ मा अपलोड गर्नुपर्नेछ ।

यस्तै, खाडीका अन्य देश र मलेसियामा रहेको नेपाली नियोगबाट विद्युतीय राहदानी जारी गर्नका लागि आवश्यक पर्ने उपकरणहरू पठाइ सकिएको र उपकरणहरू जडान हुनासाथ केही दिन भित्रै खाडीका अन्य देश र मलेसियाबाट पनि विद्युतीय राहदानीको लागि आवेदन दिन मिल्ने छ ।

त्यस्तै खाडी र मलेसिया बाहेक अन्य देशहरूमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने काम भइरहेको रहेको र केही हप्ता भित्र सेवा सञ्चालन गर्ने राहदानी विभागको तयारी छ ।

नेपालमा भने अहिले ३६ वटा जिल्ला प्रशासन कार्यालयहरू र ५ वटा इलाका प्रशासन कार्यालयहरूबाट गरी जम्मा ४१ ठाउँबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।

प्रतिक्रिया