![](https://akhabartoday.com/wp-content/uploads/2022/02/lata-mangeshkar.png)
काठमाडौं, २३ माघ । ‘स्वर कोकिला’ उपनामले चिनिने भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको हो ।
उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । स्थिति जिटल बन्दै गएपछि केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
थुप्रै नेपाली गीत समेत गाएकी लताले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।
उनी यति लोकप्रिय थिइन् । उनको हरेक एल्बम दशौँ हजारको संख्यामा बिक्रि हुने गर्दथ्यो । लता मंगेशकरको जन्म २८ सेप्टेम्बर सन् १९२९ को मध्य भारतको शहर इन्दौरमा भएको थियो । उनका पिता पंडित दिनानाथ मंगेशकर पनि गायक थिए ।
उनी थिएटर कलाकार पनि थिए र मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए । लता मंगेशकर आफ्ना पिताका पाँच सन्तामध्ये सबैभन्दा जेठी थिइन् । पछि लताका भाइ बहिनी पनि उनको अनुसरण गर्दै सङ्गीतको दुनियाँमा कदम राखे र पछि गएर भारतका चर्चित गायक बने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् । लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।