विद्युत् नियमन आयोगका अध्यक्षलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २२ माघ

काठमाडौं, २२ माघ । विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्ने समय सीमा दिइएको छ ।
विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यकक्षमता सम्बन्धमा गठित छानबिन समितिले अध्यक्ष सिंहलाई सो समयभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

तोकिएको समयभित्र स्पष्टीकरण नदिएको खण्डमा कानुन बमोजिम कारबाही हुने शनिबार प्रकाशित सूचनामा उल्लेख छ । आयोगका पदाधिकारीको कार्यकक्षताको अभाव देखिएको भन्दै सरकारले छानबिन समिति गठन गरेको छ । समितिले भौतिक रुपमा पटकपटक प्रत्यक्ष रुपमा भेट गरी स्पष्टीकरण पेश गर्न आग्रह गरे पनि सिंहले अटेर गरेका कारण सार्वजनिक सूचना प्रकाशित गरिएको हो ।

समितिले शुक्रबार इमेलमार्फत स्पष्टीकरणको सूचना इमेल गरेको र सार्वजनिक रुपमा आज सूचना प्रकाशित गरी जानकारी गराएको हो । समितिले सिंहलाई म्यादभित्रै स्पष्टीकरण पेश गर्न र अन्यथा कानुन बमोजिम कारबाही हुने बताएको छ ।

मन्त्रिपरिषद्ले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । आयोगका अध्यक्ष सिंह, सदस्यद्वय रामेश्वर कलवार र भागीरथी ज्ञवालीको कार्यक्षमतामा प्रश्न उठेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले छानबिन समिति गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।
छानबिन समिति गठन भएपछि उहाँहरु स्वतः निलम्बनमा रेका छन् ।

छानबिन समिति गठन हुनु अगावै आयोगका अर्का सदस्य डा रामप्रसाद धितालले भने राजीनामा दिनुभएको थियो । आयोगको ऐनमा अध्यक्ष वा कुनै सदस्यको कार्य क्षमताको अभाव वा खराब आचरण भएको पाइएको खण्डमा सरकारले छानबिन समिति गठन गर्न सक्ने प्रावधान छ । सोही प्रावधानका आधारमा छानबिन समिति गठन गरिएको हो ।

प्रतिक्रिया