काठमाडौं, २२ माघ । मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुई जना र ललितपुरको धापाखेलस्थित एक घरको कम्पाउण्डमा भेटिएका एक जनाको हत्या गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
राजेन्द्रकुमार श्रेष्ठ, मोहन लिम्बु र सम्भुकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ रङ्गेली–३ आमतोलाका २२ वर्षीय मोहमद सुभाम र सुनसरी देवानगन्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिम हुन् ।
यसअघि हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मुख्ययोजनाकार अनिल मण्डलसहित तीन जनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत शुक्रबार सार्वजनिक गरेको थियो ।
कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।