काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली भइरहेको छ ।
आज शनिबार अपराह्नपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ । महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।