महिला भलिबल टोलीसहित प्रिन्स दाहाल र फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित
अखबार टुडे
प्रकाशित:
२०७८, २१ माघ

काठमाडौं, २१ माघ । सरकारले एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन् ।

उक्त प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा विजय हुन सफल महिला भलिबल टोलीका १२ खेलाडीलाई जनही रु पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गरेको छ ।

कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए ।

यस्तै,विश्व ब्याडमिन्टन महासङ्घको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शीर्ष स्थानमा पर्न सफल भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि सो अवसरमा बधाई दिए ।

फुटबलको क्षेत्रमा नेपाली खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइरहेका प्रशिक्षक अब्दुलाह अल्मुताइरीलाई पनि उनले धन्यवाद दिए । ‘आगामी दिनमा फुटबल प्रतियोगितामा पनि नेपाली खेलाडीले सफलता प्राप्त गर्न प्रयासरत रहनुहुनेछ भन्ने अपेक्षा लिएको छु’, उनले भने ।

सरकारले विश्व ब्याडमिन्टनको वरियातामा शीर्ष स्थानमा रहन सफल प्रिन्स दाहाल र साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि सम्मान गरेको छ । सरकारले फुटबल टोलीलाई यसअघि नै पुरस्कृत गरिसकेको छ ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले पुरस्कारले खेलाडीमा जिम्मेवारी थपिएको उल्लेख गर्दै नेपाललाई विश्व समुदायको जनस्तरसँग जोड्न खेलाडीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भलिबलको कभर्डहल निर्माणका लागि आगामी बजेटमा सम्बोधन गर्न प्रधानमन्त्री देउवासमक्ष अनुरोध समेत गरे ।

प्रतिक्रिया