काठमाडौं, २१ मघ । अहिले केही स्थानमा पानी पर्न रोकिए पनि शुक्रबार दिनभर देशका धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार राति पनि प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चटयाङ÷असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शनिबार दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ र मधेस प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भइहेको छ ।