बाक्लो हिमपातका कारण दुई राजमार्ग अवरुद्ध
अखबार टुडे
प्रकाशित:
२०७८, २१ माघ

काठमाडौं, २१ मघ । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । हिमपातका कारण राजमार्ग अवरुद्ध भएको राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।

यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

गए रातिदेखि जिल्लाका विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् ।
यहाँका खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीबारदेखि हिमपात भइरहेको छ । यस क्षेत्रमा केही हप्ता पहिले परेको पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसो बढेको हो ।

प्रतिक्रिया