काठमाडौं, २० माघ । विदेशबाट अवैध रूपमा ल्याइएको सुन र पाँच वटा मोबाइलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी–७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।
प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ ।
यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चार जना, सुन र फोनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।